कांग्रेस नेताहरु प्रकाशमान, शशांक र विमलेन्द्रको भेट

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ००


नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोईराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन्।

मंगलबार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटको क्रममा आगामी दिनमा महाधिवेशन केन्द्रीत छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रबार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्न सहमत भएका हुन।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेता सिंहले पार्टीमा सबैको चाहाना पार्टी राम्रोसँग सञ्चालन हुनुपर्ने र प्रजातान्त्रिक तवरले सञ्चालन गर्नुपर्ने रहेको भन्दै छलफलको दायरा बढाउनको निम्ति केन्द्रीय सदस्यसँग बैठक गर्न लागिएको बताए।

उहाँले १३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका नेताहरुसँग पनि अलग्गै छलफल गर्ने जानकारी दिए।

उनले भने–‘सबैको चाहाना के छ भन्दा पार्टी राम्रोसँग सञ्चालन हुनुपर्यो। डेमोक्रेटिक तवरले भन्ने छ। यसमा तिनजना मात्रै होइन, छलफलको दायरालाई अलि विस्तारित गर्नुपर्यो र आउने शुक्रबारको दिनमा हाम्रो महामन्त्री डा. शशांक कोइरालाजीको टोखा निवासमा हाम्रो पार्टीको सबै केन्द्रीय सदस्यज्यूहरुलाई निमन्त्रणा गर्ने र १३ औँ महाधिवेशनमा पार्टी सभापति उम्मेदवार भएकाहरुलाई हामी ३ जनाले फेरी उहाँहरुसँग अलग्गै कुरा गर्ने।’

तीन नेताको भेटघाटमा पाउनुपर्नेले क्रियाशिल सदस्यता पाउनुपर्ने र छानविनमा रहेका सदस्यहरुलाई आवश्यक विधि, प्रक्रिया पुरा गरेर क्रियाशिल सदस्यता दिनुपर्ने विषयमा छलफल भएको पनि उनले बताए।


प्रतिक्रिया दिनुहोस्