अमेरिका र क्यानडामा अत्यधिक गर्मी, जनजीवन प्रभावित

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ५७


लामो समय पानी नपरेपछि अमेरिकाको उत्तरपश्चिमी इलाकाको ठूलो क्षेत्र तथा क्यानडामा अत्यधिक गर्मी बढेका कारण यहाँको सामान्य जनजीवन प्रभावित भएको छ।

अमेरिकी मौसम सेवा एनडब्लुएसले तापक्रम अत्यधिक हुने र गर्मी अझै बढ्ने चेतावनी दिएको छ। वासिङ्टन तथा ओरिगन राज्यसहित क्यालिफोर्निया र आइडाहो राज्यका केही क्षेत्रमा गर्मी तथा तातो हावाका कारण जनजीवन प्रभावित भएको हो।

ओरिगन राज्यको मुल्ट्नोमाह काउन्टीले ‘जीवनमाथि नै गम्भीर चुनौति दिने’ खालको गर्मी हुन सक्ने चेतावनी दिएको छ।

केही शहरहरूले स्थानीय बासिन्दाहरूका लागि वातानुकुलित क्षेत्रमा बस्न पाउने सुविधासहितका शितल केन्द्रहरू खुला गरेका छन् ।

अमेरिकाको उत्तर पश्चिम र क्यानडामा केही सातादेखि निरन्तर तापक्रम बढ्दै गएको बताइएको छ। विज्ञहरुले जलवायु परिवर्तनका कारण यस्तो खालका अति गम्भीर मौसमी अवस्था थप बढ्न सक्ने बताएका छन्।

विज्ञहरुले जलवायु परिवर्तनका कारण बढ्दो क्रममा रहेका बाढी, आँधी तथा अत्यधिक गर्मी जस्ता घटनाहरुले धेरैको ज्यान लिन सक्ने चेतावनी दिँदै आएका छन्।

एनडब्लुएसले अझै केही दिन तापक्रम बढ्न सक्ने बताएको छ।

वासिङ्गटन र ओरिगन राज्यमा तापक्रम औषतभन्दा २०–३० डिग्री फरेनहाइटभन्दा माथि रहन सक्ने जनाइएको छ।

सियाटल र पोर्टल्याण्डमा आइतबार र सोमबार दुवै दिन अहिलेसम्मकै उच्च तापक्रम रहन सक्ने चेतावनी दिइएको छ।

सियाटलमा शनिबारको तापक्रम १०१ डिग्री फरेनहाइट पुगेको थियो, यो जुन महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम हो।


प्रतिक्रिया दिनुहोस्