दैनिक ६४ उडान भर्ने गरी आन्तरिक हवाई उडान सुरु हुने

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  २ : ३४


काठमाडौं । दैनिक ६४ वटा उडान भर्ने गरी आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ।

निषेधाज्ञासँगै बन्द भएको आन्तरिक तर्फको हवाई उडान पर्सिदेखि दैनिक ६४ गन्तब्यसहित पुनः शुरु हुने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा आन्तरिक उडान भर्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

प्राधिकरणका अनुसार पर्सि बिहान ६ बजेदेखि आन्तरिक हवाई उडान सुरु हुने छ।

नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उडान भर्नेमध्ये सबैभन्दा बढी बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन दैनिक उडान भर्ने छन्।

नेपाल एअर, तारा एअर, समिट एअर र सीता एअरले दैनिक दुई दुई उडान गर्न पाउने छन्।

दैनिक ६४ वटा उडान हुने र ती विमानले कुल उडान क्षमताको ५० प्रतिशतमा नबढने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको छ।

यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ।

अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्ससहित अन्य चार कम्पनीले पनि अन्तर्राष्ट्रिय उडान भर्न पाउने छन्।

फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्ने भएका हुन्। दोहा, जापान, दुबई, ओमान, कुवेत लगायतका गन्तव्यमा उडान शुरु भइसकेको छ।

उडान सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड भने पूर्ण रुपमा पालना हुनुपर्ने सर्त प्राधिकरणको छ।


प्रतिक्रिया दिनुहोस्