५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : ५५


काठमाडौं । आर्थिक बर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ।

यस आर्थिक बर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो।

सो क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागकी निमित्त महानिर्देशक जानुका पण्डितले बताइन्।

अठारौ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको पुर्व सन्ध्यामा कृषि विभागले आईतबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्षको धानको उत्पादनको सम्बन्धमा बताएको हो।

विभागले यस वर्ष अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफलमा १ प्रतिशत र धान उत्पादनमा १ दशमलव ३ प्रतिशतले वृद्धि भएको जनाएको छ।

निमित्त महानिर्देशक पण्डितले आगामी दिनमा धान बालीको उत्पादकत्व वृद्धिको दरलाई अझै फराकीलो र दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताइन्।

देशमा धानको उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको अवस्था सुधार गर्न, धानमा आत्मनिर्भर बन्न र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयमा वृद्धि गर्न सकिने आधारहरु रहेको उनले बताइन।

पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा करिब ५९ प्रतिशत वृद्धि भएको पनि उनले जानकारी दिए।

हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइने गरिएको छ।

यस वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ धान दिवस मनाइने निमित्त महानिर्देशक पण्डितले बताए।


प्रतिक्रिया दिनुहोस्