थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्छु : मन्त्री श्रेष्ठ

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : ०५


काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

सिंहदरबारमा आईतबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै उनले आफु मन्त्रालयमा रहुन्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र सम्मृद्धिका लागि काम गर्ने बताएका हुन।

रहरले नभई बाध्यताले मन्त्रालयको जिम्मेबारी सम्हाल्नु परेको उल्लेख गर्दे उनले कोभिड महामारीको अत्यन्तै कठिन अवस्थामा पनि पर्यटन क्षेत्रको सम्मुनत विकासका लागि भिन्न किसिमको कार्यायोजना बनाई अघि बढ्नुपर्ने आवश्यकता औल्याए।

सरकारले नीति ल्याउने तर कार्यान्वयन तहमा लैजाने जिम्मेबारी कर्मचारीहरुको भएको भन्दै उनले समग्र मन्त्रालयका कामलाई प्रभावकारी बनाउने गरि कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिए।

उनले भने “मैले थप जिम्मेबारी पाएको कुनै रहरले होइन बाध्यताले हो। अहिलेको परिस्थितिले हो। म जतिदिन यहाँ हुन्छु त्यत्तिदिन यो मन्त्रालयलाई कसरी राम्रो गर्न सकिन्छ गर्नेछु। त्यसमा तपाईहरु(कर्मचारी)को सहयोग चाहिन्छ। तपाईहरुले नै गर्ने हो। समस्या आउन नदिने गरि काम गर्नुहोस्। नीतिगत कुरा सरकारले गर्ने हो तर कार्यान्वयन कर्मचारीले गर्ने हो। तपाईहरु राज्य संञ्चालनको स्थायी संयन्त्र हो। कार्यान्वयन गर्ने तपाईहरुले हो। कठिन अवस्थामा रहेकाले कसरी काम गर्न सकिन्छ भनेर तात्कालिन, मध्य र दीर्घकालिन कार्ययोजना बनाउनुहोस्।”

मन्त्री श्रेष्ठले नेपाल वायु सेवा निगमले विभिन्न समयमा जहाज किन्दा देखिने गरेका समस्याको पनि अध्ययन गर्ने बताए।


प्रतिक्रिया दिनुहोस्