त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ७ : ५८


नेपालले खेल्ने तय भएको स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएको छ।

आगामी महिना स्पेनमा हुने तालिका निर्धारण भएको सो सिरिज कोभिड –१९ का कारण स्थगन गरिएको हो।

सो सिरिज सन् २०२२ को जुलाइसम्मका लागि स्थगन भएको नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुर्यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

सिरिजका लागि मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बन्द प्रशिक्षण शुरु भएको थियो।

बन्द प्रशिक्षणका लागि प्रधानमन्त्री कप र मेयर कपमा गरिएको खेल प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरिएको थियो।

प्रशिक्षण दिन श्रीलंकामा रहेका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर गत साता नेपाल आएका थिए।

नेपालले हालसम्म लिगमा चार खेल खेल्दै चार अंक जोडेको छ। लिग दुईमा नेपालसहित ओमान, युनाइटेड अरब इमिरेट्स, अमेरिका, नामिबिया, स्कटल्याण्ड र पपुवा न्युगिनी छन्।


प्रतिक्रिया दिनुहोस्