सरकार विरुद्ध विपक्षी गठबन्धन बिहिबारबाट आन्दोलनमा

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : ५४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा विपक्षी गठबन्धन आन्दोलनमा जाने भएको छ।

बुधबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको विपक्षी ५ दलको बैठकले बिहिबारदेखि स्वास्थ्यका मापदण्ड अपनाएर आन्दोलन गर्ने निर्णय गरेको छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका नेता सहभागी थिए।

बैठकले भोलीबाट प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम गर्ने निष्कर्ष निकालेको र आन्दोलनको पहिलो दिन भोलि (बिहिबार) विद्यार्थी संगठनहरुको आन्दोलनका कार्यक्रम रहेको बैठकमा सहभागी एक नेताले बताए।

भोलि आन्दोलनको पहिलो दिन ५ वटै दलसम्बन्ध विद्यार्थी संगठनहरुले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अन्तर्गत विरोध प्रदर्शन गर्ने छन्। यस्तै, दलका प्रमुख नेताहरुले सम्पादकहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ।

कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्ड अपनाउँदै विरोधका कार्यक्रम अगाडि बढाउने निष्कर्षमा विपक्षी गठबन्धन पुगेको हो।

सर्वोच्च अदालतबाट संसद विघटन सम्बन्धी मुद्धाको फैसला आउँदो हप्ता/दश दिनमा आउने तयारी भइरहँदा विपक्षी गठबन्धन थप दबाबमुलक कार्यक्रम गर्न लागेको हो।


प्रतिक्रिया दिनुहोस्