खेत जोतेर फर्कँदै गर्दा लडेर मृत्यु

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १२ : ४३


खेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिनुभयो । श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किँदै थिए ।

शारीरिक अपाङ्गता भएका बुवासँगै खेत जोतेर घर फर्कँदै गर्दा लडेर मृत्यु भएका श्रेष्ठको अनुहारमा चोट देखिएको वडाध्यक्ष अम्गाईँले जानकारी दिनुभयो । मङ्गलबार साँझ उक्त घटना भएको उहाँले बताउनुभयो । खेत जोत्दाजोत्दै चर्को घाम भएपछि गोरु फुकाएर बुवाले चराउन लगेपछि उहाँ घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्किएर लड्दा मृत्यु भएको अनुमान गरिएको वडाध्यक्ष अम्गाईँले जानकारी दिनुभयो ।

घटनाको खबर प्राप्त भएलगत्तै बुङ्कोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सन्तोष अधिकारीको टोली घटनास्थल पुगेको थियो । मृतकको शव गोरखा अस्पतालमा ल्याएर परीक्षणपछि आज परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्