कृष्ण मन्दिरबाट चोरिएका ११ मूर्तिसहित दुई जना पक्राउ

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ४३


काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनायाण शाह रहेका छन् ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो।

प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई मूर्तिसहित गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसैबीच काठमाडौँ महानगरपालिका–६ कपनबाट आज एक किलो अवैध लागूऔषध गाँजा सहित दूई किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध गाँजा सेवन तथा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले प्लाष्टिकमा पोका पारी राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

यसैबीच आज यहाँको तारकेश्वर नगरपालिका–१ साङ्ला छाप बस्ने धनकुटा नगरपालिका–१ घर भएका ३६ वर्षीय दीपक राई आफ्नै कोठाको बाटो खण्डमा मृत फेला परेका जनाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्