पर्यटक घुमाउने हात्ती पाल्नै मुस्किल

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : २७


निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा हात्ती पाल्न कठिन हुन थालेको छ।

चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा घुमाउनका लागि पालिएका हात्ती पर्यटक नआएपछि पाल्न मुस्किल भएको हो।

कोभिड—१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञासँगै पर्यटन व्यवसाय ठप्प छ।

सौराहामा निजी क्षेत्रका ५५ वटा हात्ती छन्। निजी हात्ती सञ्चालन गर्नेहरुको संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्ती पाल्न कठिन भएको बताए।

उनका अनुसार दैनिक एउटा हात्तीलाई २० किलो धान, सखर, गहुँलगायत खाद्यान्न, दुई क्वीन्टल हाराहारी घाँस पराल र २५० लिटर पानी आवश्यक पर्दछ । सातामा एक पटक नुन, जुकाको औषधिलगायत सामग्री खुवाइने उहाँले जानकारी दिए।

उनका अनुसार एउटा हात्ती पाल्न मासिक रु एक लाखभन्दा बढी खर्च हुन्छ। उनले भने, “निकुञ्जभित्र घाँस खेर गएको छ, हामीले हात्तीलाई खुवाउन पाएका छैनौं ।”

कोभिडपछि मात्रै सौराहामा १२ वटा हात्ती विस्थापित भइसकेको उनले जानकारी दिए।

व्यवसायीले विस्थापित मात्रै भनेपनि ती हात्ती भाडामा ल्याएका फिर्ता तथा पाल्न नसकेर बिक्री गरेका हुन्।

व्यवसायीले यकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्ती एउटाको ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको छ।

ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ। सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको व्यापार सम्बन्धी महासन्धि (साइटिस)ले हात्तीलाई अनुसूची—१ मा राखेको छ।

व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची—१ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन। त्यसैकारण यहाँका व्यवसायीले हात्ती बिक्री गरेको स्वीकार गर्दैनन्।

उनले भने, “हात्ती पाल्ने जिम्मेवारी व्यवसायीको मात्रै होइन, यसको दायित्व सबैले वहन गर्नुपर्छ ।” हात्ती विनाको सौराहा कल्पना गर्न नसकिने भन्दै उहाँले सबैको साथ र सहयोग नपाएमा केही वर्षभित्रमा हात्तीविहीन सौराहा बन्ने खतरा भएको जानकारी दिए।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई चितवन राष्ट्रिय निकुञ्जमा पटक पटक आग्रह गरिएको भए पनि चरिचरणको व्यवस्थापन हुन नसकेको बताए।

रकम तिरेर कुमरोज सामुदायिक वनबाट केही घाँस ल्याएको भए पनि पर्याप्तता नभएको उनको भनाइ छ।

हात्तीको चरिचरणका लागि राज्यका तर्फबाट सहयोग हुनुपर्ने भट्टराईले बताए।

स्थानीय तहले हात्ती राखेबापत कर समेत लिने गरेको भन्दै उनले कर छुट गराउन समेत पहल गरिएको जानकारी दिए।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जिल्ला विपद् व्यवस्थान समितिको बैठकमा समेत आफूले निकुञ्जभित्र हात्तीलाई चरिचरणको व्यवस्था गर्न माग गरेको बताए।

उनले जनताको जमिन नदी कटान भएर निकुञ्जतर्फ परेको ठाउँमा समेत चरिचरण गर्न नपाएको भन्दै यस्तै अवस्था रहे सौराहाबाट हात्ती विस्थापित हुने चेतावनी दिए।

हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो । यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन्। हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुङ्गी हेरेर रमाउने गर्दछन्।

गत वर्ष कोरोना सङ्क्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले व्यवसायीले चरनका लागि माग गरेको विषय आफूले निकुञ्ज विभागमा लिखित रुपमा पठाएको भए पनि कुनै निर्णय भइनसकेको बताए।

व्यवहारिक रुपमा हात्ती पाल्न कठिन भएपनि नीतिगत रुपमा हात्तीलाई निकुञ्जमा चरणका लागि ठाउँ दिन नसकिएको उनको भनाइ छ।

उनले भने “माथिल्लो निकायबाट निर्णय हुन सकेमा सहज हुन्थ्यो।” रासस/नारायण अधिकारी


प्रतिक्रिया दिनुहोस्