साबिक विजेता पोर्चुगललाई ४- २ ले हराउँदै जर्मनीको ऐतिहासिक जित

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ११ : ४२


जारी युरोकपको आज भएको खेलमा जर्मनीले पोर्चुगललाई ४- २ ले हराएको छ । पोर्चुगललाई हराउँदै जर्मनीले युरो कपमा पहिलो जित निकालेको हो ।

पहिलो खेलमा  फ्रान्ससँग १–० ले पराजित भएको जर्मनीले साबिक विजेता पोर्चुगललाई हराएको हो ।

जर्मनीलाई हराउने फ्रान्सलाई बराबरीमा रोकेको  हंगेरीलाई ३–० ले हराएको थियो पोर्चुगलले  । त्यसैले पोर्चुगललाई शक्तिशाली टिमको रूपमा हेरिएको थियो ।

क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३५ मिनेटमा जर्मनीले बराबरी गर्न सफल भएको थियो । जर्मनी का गोसेन्सले डिबक्समा हाभर्ट्जलाई पास दिएका थिए। उक्त पास क्लियर गर्ने क्रममा पोर्चुगलका रुबेन डियासले आफ्नै पोस्टमा गोल गर्न पुगे।

पोर्चुगलले दोस्रो आत्मघाती गोल गर्दा जर्मनीले अग्रता लिएको थियो । पहिलो हाफमा २-१ ले अघि रहेको जर्मनीले ५१ मिनेटमा तेस्रो गोल गर्‍यो। यस पटक हाभर्ट्जले गोल गर्न सफल भए। ६० मिनेटमा जर्मनीका लागि रोबिन गोसेन्सले अर्को गोल गरेपछि जर्मनी ४-१ ले अघि बढेको थियो ।

अन्त्यमा ६७ औँ मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काएका थिए । अति रोमाञ्चक भएको आजको खेलमा जर्मनीले ऐतिहासिक जित हात पारेको छ ।


प्रतिक्रिया दिनुहोस्