ओलीलाई विप्लवको सन्देश : धेरै चतुर बन्न खोजे समस्यामा पर्नु हुन्छ!

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ३०


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरुसँग भएको ३ बुँदे सहमति सरकारले कार्यान्वयन नगरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

केपी शर्मा अ‍ोली नेतृत्वको सरकार र विप्लव नेकपाबीच गतबर्षको फागुन २३ गते ३ बुँदे सहमति भएको थियो।

जसमा नेकपामाथिको प्रतिबन्ध हटाउने, जेलमा रहेका सबै नेता-कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्ने, विप्लव नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा सञ्चालन गर्ने, देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्ने सहमति भएको थियो।

आफूहरु सहमतिप्रति पूर्णप्रतिबद्ध भएपनि सरकारबाट सहमतिको कार्यान्वयन नभइरहेको विप्लवले गुनासो गरेका हुन।

सहमति भएको ४ महिना भन्दा बढि समय हुँदा पनि जेलमा रहेका नेता कार्यकर्ता रिहा गर्न र मुद्धा फिर्ता लिन सरकारले आनाकानी गरेकोप्रति विप्लवले सरकारको नियतमाथि आशंका व्यक्त गरेका छन्।

सरकारले अस्वभाविक ढंगले कुराहरुलाई लम्बाउँदै गरेको भन्दै विप्लवले भने, ‘३ बुँदे गर्दाको जो विश्वासको वातावरण थियो, जो हुन्छ भन्ने हाम्रो भरोसा थियो। त्यसमा कहिँ न कहिँ गति नपुगेको, प्रयोग र कार्यान्वयन पक्ष चाँहि ढिला हुँदै गएको र त्यसले थुप्रै प्रश्नहरु जन्मेका छन।’

कतिपयले प्रधानमन्त्री ओलीको कदमलाई चातुर्यता भनिरहँदा विप्लवले अगाडि भने- ‘केपी जीको चातुर्यता कति हो, अरु पार्टीको कति हो, विदेशीहरुको घेराबन्दी कति हो। त्यो उहाँले जान्ने कुरा भयो। तर म यसलाई चातुर्यता भन्दिन। यदि त्यसो गर्नु भो भने यो झन् ठूलो समस्यामा पर्ने सोचाई हुन्छ।’


प्रतिक्रिया दिनुहोस्