अमेरिकासँग ‘भिड्न र वार्ता’ गर्न दुवैका लागि तयार छौं : किम जोङ उन

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ३ : ०४


सिओल । अमेरिकामा जो बाइडेन राष्ट्रपति बनेपछि विश्वसमुदायबाट टाढा रहेको उत्तर कोरियाले पहिलो पटक प्रतिक्रिया जनाएको छ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बाइडेन सत्तामा आएपछि पहिलोपटक प्रतिक्रिया जनाउँदै उत्तर कोरिया अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि तयार रहेको बताएका छन्।

राजधानी प्योङयाङमा सत्तारुढ वकर्स पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै किमले मुुलुकको प्रतिष्ठा र स्वतन्त्र विकासका लागि अमेरिकासँग भिड्न पूरै तयार रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।

उनले शान्तिपूर्ण वातावरण र मुलुकको रक्षाका लागि पनि यस्तो आवश्यक रहेको बताएका छन्।

कोरियाली प्रायद्वीपको स्थिर नियन्त्रणको प्रयासलाई पनि उत्तर कोरियाले गहन ढंगबाट नियालिरहेको किमले बताए।

अमेरिका र उत्तर कोरियाको चिसिएको सम्बन्ध यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटपछि केहि शिथिल बनेको थियो। तथापी उत्तरले आफ्ना गतिविधिलाई निरन्तर जारी राखेको छ।

गत जनवरीमा जो बाइडेनको शपथ अघि उत्तर कोरियाले नयाँ मिसाइलसहितको विशाल सैन्य परेड गरेको थियो।

अमेरिकामा नयाँ राष्ट्रपति आएपनि उत्तरलाई हेर्ने उसको विदेश नीतिमा फरक नरहेको उत्तरको ठहर छ।

 


प्रतिक्रिया दिनुहोस्