मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति गठित

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : २४


सभामुख अग्निप्रसाद सापकोटाले आज सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिनुभएको छ । बुधबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पु¥याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुग्नुभएका सभामुख सापकोटाले मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसंँग विस्तृत जानकारी लिनु भयो ।

नगर प्रमुख डम्बर अर्यालले अहिलेसम्मका उद्धार, राहत र भए गरेका कामबारे जानकारी दिनुभयो । नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायत सूचना तथा सञ्चार क्षेत्र, विद्युत् र सडक तत्काल चालु गर्न संघ, प्रदेश र स्थानीय सरकारका समन्वयमा कार्य अघि बढाउनुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाको प्रमुख आतिथ्यतामा नगरपालिकामा भएको सर्वपक्षीय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायत कार्य गर्न जिसस प्रमुख कृष्णगोपाल तामाङका संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको छ ।

बाढीबाट विस्थापितलाई तत्काल राहतका लागि सभामुख सापकोटाका पहलमा उपलब्ध भएका खाद्यान्नलगायत राहत सामग्री उहाँको उपस्थितिमा आजै समितिलाई हस्तान्तरण गरिएको छ । समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्