बाढी-पहिरो अपडेट : ११ जनाको मृत्यु, २५ बेपत्ता

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : २१


मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ।

जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एकरएक जनाको मृत्यु भएको हो।

यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन्। प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्क विहिन छन्।

भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन्।

यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एकरएक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ।

अहिले राहत, खोज तथा उद्धार कार्य जारी रहेको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए।

आज मनाङमा समेत राहत लिएर सेनाको हेलिकप्टर पुगेको जनाइएको छ।

अहिलेसम्म बाढी पहिरोका कारण विभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्षति पुगेको छ। रासस


प्रतिक्रिया दिनुहोस्