आधिकारिता दाबी गर्दै जसपा फेरि निर्वाचन आयोग जाने

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ७ : २८


पार्टीको आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टी पुनः निर्वाचन आयोग जाने भएको छ।

जनता समाजवादी पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले बताए।

पार्टीमा आफ्नो पक्ष स्पष्ट बहुमतमा भएको र पार्टीको कार्यदिशा र योजनाको पक्षमा पनि आफुहरु नै रहेकाले पार्टीको आधिकारीकता माग गर्ने निर्णय गरिएको उनले बताए।

उनले भने – ‘निर्वाचन आयोगमा हाम्रो पार्टीमा केही व्यक्तिहरुले जुन विवाद सिर्जना गरेका छन्, त्यसको निरुपणका निम्ति पार्टीको आधिकारिकताको टुंगो लगाउनलाई निर्वाचन आयोगमा फेरी प्रस्तुत हुने भन्ने हामीले निर्णय गरेका छौँ । किनकी हाम्रो पार्टीको स्पष्ट बहुमत अहिलेपनि हामीसँग छ । कार्यदिशा र योजनाको हिसाबले पनि प्रतिगमनको विरुद्धमा दृढतापूर्वक उभिने जुन जसपाको ध्येय हो त्यो पनि हामीसँग नै छ । त्यसैले त्यो विषयमा पनि हामीले निर्णय गरेका छौँ।’

उनले महन्थ ठाकुर पक्षले पार्टीको नाम र लोगो दुरुपयोग गरेको पनि बताउनुभयो । उनले भने – ‘बहुमत भएकाले पार्टीको नाम, चिन्ह, लोगो लगायत स्वत् हामीले पाउनुपर्ने । उहाँहरु अल्पमतपक्षले पनि पार्टीको नाम, लोगो प्रयोग गरिरहनुभएको छ । त्यो असंवैधानिक र दुरुपयोग हो।’

कार्यकारिणी समिति बैठकले पार्टीको जनपरिचालनका लागि कार्ययोजना बनाउन मृगेन्द्रसिंह यादवको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको छ।

सरकारले तराई मधेशका सिमावर्ती क्षेत्रमा हुने डुबानको बारेमा भारतसँग कुरा गरेर समस्याको हल गर्न पहल गरोस् भन्ने निर्णय गरेको पनि अध्यक्ष भट्टराईले जानकारी दिए।

जसपाले बाढी, पहिरोको समस्यामा तत्काल राहत, उद्दारको काममा खट्न पनि नेता कार्यकर्तालाई निर्देशित गरको छ।

सरकारले गिट्टी, बालुवा निकासी गर्ने निर्णय गरेको भन्दै यो पर्यावरणीय र राष्ट्रिय हिसाबले गलत ठहर गर्दै त्यसको विरुद्धमा अभियान चलाउने निर्णय गरिएको पनि जसपाका अध्यक्ष डा. भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस्