प्रसव व्यथाले जीवनमरणका दोसाँधमा : खराब मौसमले भएन उद्धार

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ६ : ५३


दाने बोहरा, सिमकोट । जिल्ला अस्पतालबाट रिफर गरिएका एक गर्भवतीको हवाई उद्धार हुन नसक्दा जीवन र मरणको दोषधमा परेकी छिन्।

सुत्केरी व्यथाले छट्पटाइ रहेकी सिमकोट गाउँपालिका वडा नं ६ का २७ वर्षीया जसमता रोकायाको खराब मौसमका कारण हवाई उद्धार हुन नसकेको हो।

जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि गर्भवतीको अवस्था नाजुक बन्दै गएको चिकित्सक टासिआजुक लामाले जानकारी दिए।

उनका अनुसार ती गर्भवतीमा रगतको कमी तथा पाठेघरमा पानीको मात्रा कम नरहेको जनाइएको छ।

उनले भने, “शल्यक्रिया (अप्रेशन) गर्न सेतो रगत आवश्यक पर्छ। रगत छैन। यही कारण जिल्ला अस्पतालमा सुत्केरी गराउन नसकिएको हो। यहाँ शल्यक्रियाका माध्यबाट सुत्केरी गराउने संम्भव छैन। यसैले रिफर गरेको हुँ।”

अस्पतालका सिनियर अनमी सरिता बोहराले ती गर्भवतीलाई गत जेठ २७ मा सुत्केरी हुने दिन तोकिएको जानकारी दिए।

उनले भने, “जिल्ला अस्पतालमा शल्यक्रियाका माध्यबाट सुत्केरी गराउन सकिँदैन। यसैले रिफर गरेका हौँ।”

सुत्केरी हुन ती गर्भवती यही असार १ गते अस्पतालमा गएकी थिइन।

अहिले उनीको अवस्था नाजुक बन्दै गएको जनाइएको छ। सोही दिन जिल्ला अस्पतालको समन्वयमा उनीलाई हवाई उद्धारका लागि पहल शुरुआत गरिएको थियो।

निरन्तरको वर्षात र खराब मौसमले नेपाली सेनाको हेलिकप्टरले उडान भर्न नसक्दा गर्भवती जीवन र मरणको दोषाधमा छिन्।

“हामीले जिल्ला अस्पतालबाट असार १ गते सूचना प्राप्त गर्ने बित्तिकै हवाई उद्धारको लागि निरन्तर प्रयास जारी राखेका छौँ । खराव मौसमका कारण हेलिकप्टर आउन सकिरहेको छैन। सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकोप्टरसँग समन्वय भएको छ” प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने। रासस


तस्विर : सांकेतिक


प्रतिक्रिया दिनुहोस्