सरकारी रवैयाका कारण धनजनको यति ठुलो क्षति : पुष्पकमल दाहाल

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : २२


नेपाल कम्युनिस्ट पार्टी (माओवादी-केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाढी र पहिरोमा परी हराई रहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गर्दै मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरूको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रवैयाका कारण धनजनको यति ठुलो क्षति भएको समेत बताउनु भएको छ ।

अध्यक्ष दाहालद्वारा जारी प्रेस विज्ञप्ति

केही दिन अघिदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागहरूमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दछु । बाढी र पहिरोमा परी निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढी र पहिरोमा परी हराई रहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गर्दछु ।

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरूमा धनजनको ठुलो क्षति भएको छ भने कोसी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरूमा पानीको बहाव उच्च भई बस्तीहरू डुब्ने खतरा पैदा भएको छ ।

मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरूको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रवैयाका कारण धनजनको यति ठुलो क्षति भएको हो ।

हरेक वर्ष वर्षा याममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु । यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरू निर्देशन गर्दछु । राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरूको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु ।

बाढी पहिरोमा परी ज्यान गुमाउनुभएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरूको खोजी र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु

 


प्रतिक्रिया दिनुहोस्