मुस्ताङमा लेदोसहितको बाढी, १५ घर उच्च जोखिममा

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ०७


मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन्।

लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए।

‘‘माथितिर जमेर बसेको हिउँ हुन्छ। त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो’’उनले भने। अहिले सो क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ।

खोलामा बाढी आएको जानकारीपछि जिल्लाका सुरक्षा निकायबाट उक्त क्षेत्रको अनुगमन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिमपहिरोको सम्भावना भएको बताए। रासस


प्रतिक्रिया दिनुहोस्