राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ९ : ४१


राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ।

नेपाल क्रिकेट संघ क्यानर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले आज संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरिएको जनाएको छ।

नेपाली टोलीले हाल प्रयोग गर्दै आएको जर्सी परिवर्तनका लागि माग बढ्दै गएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गर्ने निर्णय गरेका हुन्।

जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र नीलो रङ ख्याल गर्न आग्रह गरिएको छ। राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार नै जर्सी डिजाइन गर्न आग्रह गरिएको छ।

क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रुपमा पाएको छ।

एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले जर्सीको उत्कृष्ट डिजाइन गर्नेलाई रु एक लाख पुरस्कार प्रदान गरिने विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ।

नेपालले आगामी जुलाईमा विश्वकप लिग २ अन्तर्गत स्पेनमा स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्ने छ।

सोही प्रतियोगितालाई ध्यानमा राखी नयाँ जर्सीको डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको हो। तीन सदस्यीय छनोट समितिले प्राप्त डिजाइनबाट उत्कृष्टलाई छनोट गर्ने छ।


प्रतिक्रिया दिनुहोस्