सुदूरपश्चिममा ओली समूहका ७ सांसदलाई निलम्बन गर्ने निर्णय

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ९ : २२


नेकपा (एमाले)को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ।

सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारवाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा अ‍ोली समूहका ७ प्रदेश सांसद कारवाही गरेको छ।

एमालेको केन्द्रमा देखिएको विवादका कारण प्रदेशको सबैभन्दा ठूलो दल दुई धारमा देखिएसँगै एकले अर्कोलाई कारवाही गर्ने सिलसिलाकै क्रममा आज सात सभासद्लाई कारवाही गरिएको हो।

संसदीय दलद्वारा पठानसिंह बोहरा र रतन थापालाई १५ दिन तथा बलदेव रेग्मी, लीलाधर भट्टराईलाई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ र नेपाली चौधरीलाई सात दिनका लागि निलम्बन गरिएको संसदीय दलका नेता प्रकाशबहादुर शाहले जानकारी दिए।

संसदीय दलको ह्विप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा समेत आपत्ति जनाएकाले कारबाही गरिएको शाहले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्