उपत्यकामा किसानहरुलाई धान रोप्ने चटारो

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : ५४


काठमाडौं । मनसुन भित्रिए सँगै काठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ।

हामीले बुझेको काठमाडौँ उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ हो । बढ्दो शहरीकरणले धान फल्ने खेतमा बहुतले घर ठडिएका छन्। तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेति योग्य जमीन बाँकी छ।

यिनै काँठ, ढाप र डोलहरुमा धान रोपाइँ सुरु भएको छ। उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली (खुमल ४) धान लगाउने चलन छ । यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ।

काठमाडौँमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ। काठमाडौँका धानफाल्ने फाँट खुम्चिदै गएका छन्।

यसलाई खुम्च्याउन तरकारी खेतीका टनेल, कुखुरा बंगुर–सुँगुर पालनले पनि सहयोग गरेका छन् । पछिल्लो समय काठमाडौँको धानमा बर्णशंकर बिउले बिकृति ल्याएको किसानहरुले बताएका छन्।

बढी उत्पादन हुने लोभमा स्थानीय जातलाई छोडेर बर्णशंकर (हाइब्रिड) धान लगाउदा स्थानीय धानको जात मासिएको अगुवा किसान उद्धव अधिकारीले बताए।

स्थानीय जातको धान हराउदा धान चामल सँग जोडिएको संस्कृति पनि हराएको अगुवा किसान अधिकारीले बताए। यसको अर्को अशर स्थानीयबासीको पोषण चक्र समेत भत्किएको छ।

यसपालिको धान रोपाइँ बिगत वर्ष जस्तो छैन । कोरोना संक्रमणको जोखिमका बीच रोपाइको काम गर्नु परेको छ।

संक्रमण हुने डरले खेतमा काम गर्ने खेताला समेत पाउन मुस्किल भएको छ। ललितपुर छम्पि क्षेत्रको खेतमा भेटिएका किसान राम चन्द्र तामांगले संक्रमणको डरको बीचमा काम गर्नु परेको बताए।

काठमाडौँ उपत्यकामा जेठ ३१ गते सम्म निषेधाज्ञा तोकिएको छ। निषेधाज्ञाले घरबाट खेत सम्म आउनजान मल विषधि किन्न समस्या परेको किसानहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्