गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ५ : ३७


काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।

शनिबार प्रदेश प्रमुख सीता पौडेलले काँग्रेस संसदीय दलका नेता समेत रहेका पोखरेललाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन।

पोखरेलले शुक्रबार ३१ सांसद्को हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।

पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेको समर्थनमा दावी पेश गरिएको थियो।

पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

विश्वासको मत नपाएर पदमुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका पृथ्वीसुब्बा गुरुङले पनि आजै मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि नयाँ तरंग सिर्जना भएको थियो। तर, गुरुङको दाबीलाई अस्वीकार गर्दै प्रदेश प्रमुखले बहुमत भएका काँग्रेस नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन।

गुरुङले आफूसँग पनि बहुमत रहेको बताउँदै मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि कतिपयले गण्डकीमा पनि केन्द्रमा जस्तै घटना दोहोरिने आशंका गरेका थिए।

गण्डकीमा संसद विघटन हुने र मध्यावधि चुनावको हुने आँकलन गरिएका बेला प्रदेश प्रमुखले बहुमत उम्मेद्वारलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन।

गण्डकी प्रदेश प्रमुखको भूमिकालाई लिएर सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

को हुन नवनियुक्त मुख्यमन्त्री?

नवनियुक्त मुख्यमन्त्री पोखरेल तनहुँको व्यास नगरपालिका-१ का स्थानीय हुन। ७१ वर्षीय पोखरेलको जन्म २००६ सालमा भएको हो।

उनी कांग्रेस तनहुँका संस्थापक नेता गोवद्र्धन पोखरेलका छोरा हुन्।

प्रवासमा लामो समय बसेका उनका बाबुको सर्वस्वहरण भएको थियो।

राजनीतिक परिवारमा जन्मिएका पोखरेल भद्र, शिष्ट र मिलनसार नेताको रुपमा परिचित छन्।

उनी प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट विजयी बनेका थिए। पोखरेलले माओवादी केन्द्रका सूर्य न्यौपानेलाई पराजित गरेका थिए।


प्रतिक्रिया दिनुहोस्