बाँस्कोटा भन्छन्-‘सांसदले प्रधानमन्त्रीको ज्यान लिन्छु भन्नु गम्भीर, एमालेहरु सचेत बन’

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेपाली काँग्रेसका प्रदेशसभा सांसद नरोत्तम बैद्यले बागमति प्रदेशसभामा गरेको सम्बोधन विवादमा तानिएको छ।

शुक्रबार प्रदेशसभामा सांसद बैद्यले ‘नेपालमा पनि कोहि नाथुराम गोडसे बन्नु पर्यो, नत्र म आफै बन्छु’ भन्दै उत्तेजक भाषण गरेपछि उनको आलोचना भइरहेको छ।

(नाथुराम गोडसे सन् १९४८ मा महात्मा गान्धीलाई गोली हानेर मार्ने व्यक्ति हुन।)

सो अभिव्यक्तिबारे टिप्पणी गर्दै प्रधानमन्त्री केपी ओली निकट रहेका एमाले नेता गोकुल बास्कोटाले प्रधानमन्त्री ओली विरुद्ध गम्भीर षडयन्त्र भइरहेको भन्दै सचेत बन्न आग्रह गरेका छन्।

‘केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ। नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ?’ सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैन? काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ। एमालेहरु सचेत बन।’

प्रदेशसभामा सांसद बैद्यको सम्बोधन यस्तो थियो

”ओली सरकारको बाहिर बस्दा घोर राष्ट्रवादी, अनि सरकारमा पुगेपछि लम्पसारवादी।। अब अहिलेको परिपेक्ष्यमा चाँहि ओलीले आफ्नो सत्ता बचाउनुको लागि जुन किसिमको हतकण्डा मच्चाइरहेका छन्। सत्ता बचाउन ओली जे पनि सम्झौता गरिराख्या छ। यो समयमा खड्ग ओलीलाई यसरी ने छोड्ने हो भने नेपाल खाइदिन्छ है। त्यसैले मेरो आग्रह के छ भने कोही नाथुराम गोडसे आवश्यकता पर्यो है अब। यो देश बचाउनको लागि। कोहि नाथुराम गोडसे बन्न तयार छैन भने म बन्ने की?”


प्रतिक्रिया दिनुहोस्