राउटे समूदायले भेटे कर्णालीका मुख्यमन्त्रीलाई, खाद्यान्न सहयोग गर्न आग्रह

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । राउटे समुदायका युवायुवतीले आफ्नो समुदायमा खाद्यन्न चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन्।

सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा दिनमा पनि सहयोग निरन्तर जारी रहने जानकारी दिए।

उनले सो अवसरमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई घुमन्ते राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिए।

सामाजिक विकासमन्त्री बिसीले राउटे समुदायका समस्या तत्काल सम्बोधन गरिने जानकारी दिए।

सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवा र युवती भेटमा सहभागी भएका थिए।

सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए।

राउटे समूहसँगको आजको भेटमा दुर्व्यवहारमा परेकी किशोरी पनि सहभागी थिइन्।

राउटे हाल सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नम्बर ९ मा बस्दै आएका छन्।

काठका भाँडाकुँडा बनाउने र त्यसलाई खाद्यवस्तुसँग साटेर दैनिक गुजारा गर्ने यो समूदायले पछिल्लो समय काठका भाँडाकुँडा विक्री नभएपछि समस्या भोग्दै आएको छ।

त्यसैले पनि राउटेहरु अहिले काठका सामान बनाउनभन्दा परजीवि बन्दै गएका छन्। यो समूदायले खेतिपाती गर्न पाप हुने विश्वास राख्छ।


प्रतिक्रिया दिनुहोस्