कुलोको विषयमा विवाद हुँदा गोली चल्यो

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ३ : २७


दाङ । तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन् ।

उनले चलाएको गोली कसैलाई पनि लागेन। उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

आज दिउँसो १ः०० बजेतिर पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले सोही वडाको टिकरीबाट पक्राउ गरेको हो।

उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाइरहेका तुलसीपुर उपमहानगरपालिका–८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ । प्रहरीले पेस्तोलसहित छ राउन्ड गोली पनि बरामद गरेको जनाएको छ। भारतमा बस्दै आएका पूर्णबहादुर केही समयअघि घर आएका थिए।

भारतबाट आउँदा आफूले पेस्तोल ल्याएको प्रहरीसमक्ष बयान दिएको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्