बाँकेमा संक्रमित कम हुँदै, ८ हजारले लगाए ‘भेरोसिल’ खोप

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ लगाउनेक्रम यहाँ जारी छ। जिल्लाका आठ पालिकाका ६२ देखि ६४ उमेर समूहका करिव सात हजार ९२९ जना मध्ये बुधबारसम्म पाँचहजार ८५९ जनाले खोप सेवा लिइसकेका छन्।

कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीले कोरोना विरुद्धको खोप अभियान जारी रहेको बताए।

उनले आफूलाई पायक पर्ने खोपकेन्द्रमा पुगी खोप लगाउन नागरिकलाई आग्रह गरे।

पछिल्लो समय निषेधाज्ञा तथा कोरोना परीक्षण तीब्र गरिएकाले सङ्क्रमितको सङ्ख्या जिल्लामा कम हुँदै गएको छ।

साथै जिल्लाका अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका श्यया समेत खाली हुन थालेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यको ९९ प्रतिशतले नागरिकले खोप लगाएका छन्।

सो उपमहानगरपालिकामा दुईहजार ३७ जना लक्षित नागरिक रहेकामा दुईहजार ३५ जनाले खोप लिइसकेको छन् ।

यसैगरी कोहलपुर नगरपालिकामा एक हजार ३२५ जनामध्ये एक हजार ४६, खजुरा गाउँपालिकामा आठ सय ७० जना मध्ये ७०९, राप्तीसोनारी गाउँपालिकामा ९ सय ५० जनामध्ये २४३, डुडुवा गाउँपालिकामा ५ सय ६ जना मध्ये ३२९, नरैनापुर गाउँपालिकामा ५ सय ५८ जनामध्ये ४५, जानकी गाउँपलिकामा ६ सय ५८ जनामध्ये ५ सय ४२ र बैजनाथ गाउँपालिकामा ९ सय ३५ मध्ये ८ सय ५३ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ती पालिकाका ८७ खोपकेन्द्र मार्फत् सेवा प्रदान गरिएको छ । डुडुवा गाउँपालिकाले मंगलबार नै खोप लगाउन सम्पन्न गरेको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्