शिक्षामन्त्री र सेनापतिद्वारा सेनाको व्यावसायिक तालिम केन्द्रको निरीक्षण

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले आज निरीक्षण गरेका छन्।

लमजुङको बेँसीशहर वडा नं। २ बगालेगाउँमा निर्माणाधीन केन्द्रको निरिक्षणका क्रममा मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार राम्रो बनेको र क्षेत्रफल पनि पर्याप्त भएकाले आगामी दिनमा प्राविधिक ज्ञान, सीप र अध्ययन गर्न यसले सहयोग पुर्याउने बताए।

निरीक्षण टोलीलाई क्याम्पसका प्राचार्य श्याम घिमिरेले हालको अवस्थाको बारेमा जानकारी गराएका थिए।

केन्द्रलाई रुपान्तरण गरी नेपाली सेना कृषि विज्ञान अध्ययन संस्थानको रुपमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेसँगै विएस्सी एजी अध्यापन गर्ने प्रक्रिया समेत अघि बढेको श्रीजंग गणका गणपति जयराम थापाले बताए।

झण्डै १३ करोड रुपैयाँ लगानीमा आवश्यक पूर्वाधार निर्माण गरिएको उक्त क्षेत्रमा बाख्रा, गाई, बंगुर, कुुखुरापालन गरिएको छ भने तरकारी खेतीसमेत गरिएको छ। केन्द्र करिब ४ सय रोपनी क्षेत्रफलमा पैलिएको छ।


प्रतिक्रिया दिनुहोस्