बूढानीलकण्ठमा १,४०९ जनाले लगाए भेरोसेल खोप

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : २१


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले एक हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ।

नगरपालिका क्षेत्रका ६०/६४ वर्ष उमेर समूहका ७१८ महिला र ६९१ पुरुषलाई आज कोरोना भाइरसविरुद्धको खोप दिइएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं ९ स्थित नेशनल आइडियल बोर्डिङ स्कूल मण्डिखाटार र वडा नं १० कपनस्थित बालउद्धार माध्यमिक विद्यालयलाई नगरपालिकाले खोप केन्द्र तोकेको छ। खोप बुधबार र बिहीबार पनि लगाइने कार्यक्रम छ।

यसअघि नगरपालिकाका दुई हजार ९०७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल पाँच हजार ५२० जनालाई कोभिशिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो।

भारतले कोभिशिल्डको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिनेबारे अन्योल छ।

नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म यहाँका दुई हजार २८४ जनामा कोरोना पुष्टि भइसकेको छ।

आज मात्रै कोरोनाका ६३ नयाँ केस भेटिएका छन्। यद्यपि संक्रमितमध्ये एक हजार ८३७ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । अब नगरपालिकामा सक्रिय संक्रमितको संख्या ४२८ छ । तीमध्ये ३९० जना होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाको नियमित बुलेटिनमा उल्लेख छ।

कोरोनाबाट नगरपालिकामा हालसम्म १९ जनाको मृत्यु भइसकेको वडा नं १० का वडाध्यक्ष भट्टराईले जानकारी दिए।

नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार ज्यान गुमाउनेमा आठ महिला र ११ पुरुष छन्।

गोकर्णेश्वरका दुई केन्द्रमा भेरोसेल खोप

गोकर्णेश्वर नगरपालिकाका दुई केन्द्रमा भेरोसेल खोप ६० देखि ६४ वर्षसम्मका वृद्धलाई दिन शुरु गरिएको छ।

नगरपालिकाको वडा नं–४ स्थित सहयोगी माध्यमिक विद्यालय र वडा नं–६ स्थित चामुण्डा माध्यमिक विद्यालय परिसरमा ६० देखि ६४ वर्षसम्मकालाई खोप लगाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले राससलाई जानकारी दिए।

नगरपालिकामा हालसम्म पाँच हजार ४९० जना कोरोना सङ्क्रमित भएका छन्। नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलिएपछि तीन हजार १४२ जना सङ्क्रमित भइसकेका छन् । गत वर्ष पहिलो चरणको कोरोनाले दुई हजार ३४८ जना सङ्क्रमित भएका थिए।

दोस्रो लहरले सङ्क्रमितभएकामध्ये दुई हजार २६९ जना घर फर्केका छन् । ८२८ जना अहिले पनि सक्रिय सङ्क्रमित छन्। दोस्रो लहरको कोरोनाले नगरपालिकाका ४५ जना नगरवासीको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । गत वर्ष पहिलो चरणको कोरोनाले भने २८ जनाको निधन भएको थियो।

कोरोनाबाट ७३ नगरवासीको निधन भएको छ। हालसम्म एण्टिजेन परीक्षण दुई हजार २० र पिसीआर विधिबाट चार ७०३ को परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

नगर क्षेत्रमा कोरोनाको लक्षण देखिएकालाई गोकर्ण प्राथमिक अस्पतालमा सोमबार र बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाउने गरिएको छ।

यसैगरी नारायणटारस्थित शङ्खरापुर अस्पतालमा बुधबार पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ। अत्यावश्यक भई परीक्षण गर्नुपरेमा भने एण्टिजेन परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ।

चीन सरकारबाट अनुदानमा प्राप्त भेरोसील खोप आजदेखि देशभर ६० देखि ६४ वर्षसम्मका नागरिकलाई लगाइँदै छ।

हिमाली क्षेत्रमा भने १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्