देशभर थपिए ५१५३ कोरोना संक्रमित, १०८ जनाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । मुलुकभरि पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ५३ जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा १७ हजार ६७६ नमूना परीक्षणमा पाँच हजार १५३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये १२ हजार ६५ पिसिआर परीक्षण गर्दा तीन हजार ८७० र पाँच हजार ६११ एन्टिजेन परीक्षण गर्दा एक हजार २८३ जनामा सङ्क्रमण देखिएको छ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख ९५ हजार ३६४ पुगेको छ। नेपालमा पिसिआर परीक्षण गरेकामध्ये सङ्क्रमण दर १८.८ प्रतिशत रहेको छ।

यस्तै आज छ हजार ५७० जना सङ्क्रमित निको भएर घर फर्किएका छन्। नेपालमा निको हुने दर ८४।७ प्रतिशत रहेको छ। अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या पाँच लाख चार हजार ५३० पुगेको छ।

१०८ जनाको निधन

मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १०८ जनाको निधन भएको छ।

योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९८ पुगेको छ। नेपालमा प्रति दश लाखमा २७७.९ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको मन्त्रालयले जनाएको छ।

१३२१ आइसियु र ३७२ भेन्टिलेटरमा

यसैगरी कोरोना भाइरस सङ्क्रमितमध्ये एक हजार ३२१ जना सघन उपचार कक्ष (आइसियु) र ३७२ जना भेन्टिलेटरमा छन्।

आइसियुमा प्रदेश नं. १ मा २०२, प्रदेश नं. २ मा ७२, वागमतीमा ७३८, गण्डकीमा ११४, लुम्बिनीमा १३७, कर्णालीमा ३४ र सुदूरपश्चिम प्रदेशमा २४ जना रहेका छन्।

त्यस्तै भेन्टिलेटरमा प्रदेश नं १ मा ३४, प्रदेश नं. २ मा २१, वागमतीमा २५४, गण्डकीमा २८, लुम्बिनीमा १९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा सात जना रहेका छन्।

होम आइसोलेसनमा ७६ हजार ५५० र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन्।

 


प्रतिक्रिया दिनुहोस्