सबै मिलेर मात्र कोरोना अन्त्य गर्न सकिन्छ : मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै मिलेर मात्र अहिलेको कोरोना महामारीको अन्त्य गर्न सकिने बताएका छन।

मुख्यमन्त्री गुरुङले आज लमजुङ जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको मुख्यमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै यस महामारीको अन्त्य गर्न तीनै तहका सरकारदेखि नागरिक लाग्नु पर्ने बताएका हुन।

मुख्यमन्त्री गुरुङले भने, “कोभिडको महामारीका बेला सङ्घ, प्रदेश र स्थानीय तह गरी सबै यसमा लागि सकेका छौँ ।” सरकार मात्र लागेर सम्भव नहुने र यसमा नागरिकले समेत साथ दिएमा महामारीलाई पराजित गर्न सकिने उनको भनाइ छ।

सो अस्पतालमा पिसिआर मेसिन समेत राख्ने तयारी भइरहेको समेत मुख्यमन्त्री गुरुङले बताए।

उनले यस अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा कुनै कसरत बाँकी नराखी काम गर्नलाई चिकित्सकहरुलाई आग्रह गरे।

सो अवसरमा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जिल्ला अस्पतालमा पिसिआर मेशिन छिटो राख्न निर्देशन दिँदै यसका लागि बजेट अभाव हुन नदिने बताए।

जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालका कोभिड बिरामीलाई चौविसै घण्टा गुणस्तरीय सेवा पदान गरिएको दाबी गरे।

रातदिन नभनि चिकित्सकहरु खटिरहेको छ।

कोभिड सङ्क्रमण बाहेक अन्य बिरामीहरुलाई पनि सेवा प्रवाह गरिहेको अस्पतालले जनाएको छ।

यस अस्पतालमा अक्सिजन प्लान्ट यही जेठ ८ गते जडान गरिएको थियो।

प्रदेश सरकारले गत मङ्सिरमा अक्सिजन प्लान्टका लागि रु ७५ लाख बजेट पठाएकामा रु ५५ लाख ५८ हजार ६५६ मा प्लान्ट जडान भएको थियो।

त्यस्तै आठ लाख दुई हजार ६७० मा अक्सिजन प्लान्ट राख्ने कोठा निर्माणमा खर्च भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार सो अक्सिजन प्लान्टले दैनिक १५ सिलिण्डर भर्नेछ । हाल ११८ वटा अक्सिजन सिलिण्डर भण्डारण रहेको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ।

उत्पादित अक्सिजन पाइपलाइनमार्फत आकस्मिक, आइसियु, आइसोलेसन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने साथै अस्पतालका ८३ शय्यामा नै जोडिने छ।

अस्पतालका अनुसार यहाँ निर्माण गरिएको आइसोलेसनमा हालसम्म ८७ जनाले सेवा लिएकामध्ये ६९ जना घरफिर्ता, २ जनाको मृत्यु भएको छ।

त्यस्तै, हाल अक्सिजनसहित उपचारत नौ जना र छ जना अक्सिजनबाहेक गरी १५ जना कोरोना सङ्क्रमितहरु उपचारत् रहेको अस्पतालले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्