५ दलको संयुक्त विज्ञप्ति : मन्त्रिपरिषद् पुर्नगठनप्रति आपत्ति

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ९ : १२


काठमाडौं । विपक्षी ५ दलका नेतृत्वले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारसँग राहत प्याकेजको घोषणा गर्न माग गरेका छन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै निषेधाज्ञा थपिँदा जनताको रोजीरोटी गुमेकाले राहत प्याकेजको घोषणा गर्न माग गरेका हुन।

यस्तै, विपक्षी गठबन्धनले ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने सरकारको घोषणा सत्ता टिकाउन कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय भएको बताएको छ।

‘नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका बासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा हो बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ’, विपक्षी गठबन्धनको विज्ञप्तिमा भनिएको छ, ‘वस्तुत यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहीत स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय हो। यस्तो निर्णयको भर्त्सना गर्दै तत्काल खारेज गर्न हामी जोडदार माग गर्दछौं।’

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनगर्ठन गर्नु संवैधानिक र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको समेत गठबन्धनको ठहर छ।


प्रतिक्रिया दिनुहोस्