महतोको अभिव्यक्तिबारे एमालेका १५ नेताले मागे प्रधानमन्त्रीसँग जवाफ

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित १५ नेताले जसपा नेता राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

महतोले उपप्रधान तथा सहरिविकाश मन्त्रालयमा नियुक्त भएपछि नेपाललाई बुहराष्ट्र बनाउन आन्दोलन गर्नुपर्ने बताएका थिए।

सो बारे नेताहरुले संयुक्त विज्ञप्ति मार्फत आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा माग गरेका छन्।

उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याइ यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन । उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ’।


प्रतिक्रिया दिनुहोस्