राजेन्द्र महतोको आन्दोलन नेपाललाई बिखण्डन गर्ने : वामदेव गौतम

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजेन्द्र महताको जनता समाजवादी पार्टी ( जसपा) का नेता एवं नवनियुक्त उपप्रधान एवं शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्।

शुक्रबार केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा गएका नेता महतोले मन्त्री बनेको आधा घण्टा नबित्दै एक सञ्चारमाध्यमसँगको अन्तरवार्तामा नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनु पर्ने बताएका थिए।

उक्त अभिव्यक्तिप्रति टिप्पणी गर्दै उपाध्यक्ष गौतमले राजेन्द्र महतोको आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने बताएका छन्।

यस्तो छ नेता गौतमको भनाई

‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु। नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो। राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन। नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन। राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ। प्रधानमन्त्री श्री केपीओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु।’


प्रतिक्रिया दिनुहोस्