कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको नेतृत्वमा विवाद

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेपाल सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड १९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ।

गत जेठ ६ गते जारी भएको अध्यादेशमा कोभिड १९ संक्रमितको निदान उपचारको लागि केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

यसै व्यवस्था अनुसार काठमाडौंको वीर अस्पताललाई अहिले कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको छ।

अध्यादेशमा भए अनुसार अस्पताल सञ्चालनको लागि एक प्रमुख प्रशासकीय अधिकारी नियुक्त गर्ने व्यवस्था छ।

साथै सरकारले प्रोफेसर डा. जागेश्वर गौतमलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको छ। युनिफाइड अस्पताल स्वास्थ्य मन्त्रालय आफैले सञ्चालन गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ।

डा. गौतमलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर वीर अस्पताल पठाएपछि विवाद उत्पन्न भएको छ।

डा. गौतम प्रमुख प्रशासकीय अधिकृत भएर वीर अस्पताल गएपछि निमित्त निर्देशकको रुपमा रहेकी डा. शान्ता सापकोटा बिदा बसेकी छन्।

अस्पतालको प्रमुख को हो भन्ने विषयमा दुइथरी मत देखिएपछि विवाद बढेको छ।

यसै सन्दर्भमा कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई निमित्त निर्देशक र प्रमुख प्रशासकीय अधिकृत बीचको विवाद के हो भनेर सोधेका छौँ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा वीर अस्पताल युनिफाइड अस्पतालमा रुपान्तरण भइसकेकाले प्रमुख आफै रहेको बताए।

सरकारले अर्को नियुक्त नगरुञ्जेल अथवा अध्यादेश क्रियाशिल रहुञ्जेल वीर अस्पतालको प्रमुख डा. जागेश्वर गौतम नै रहने बताए।

सरकारले गरेको निर्णयलाई नमानी विवाद सिर्जना गरेर मिडियाबाजीमा जानु राम्रो नभएको डा. गौतमले बताए। निमित्त निर्देशक रहेकी डा. सापकोटाको पद नै अहिले नरहेको भन्दै विवाद नझिक्न आग्रह गरिन।


प्रतिक्रिया दिनुहोस्