तेस्रो लहरको चेतावनी : बालबालिकालागि २० प्रतिशत बेड खाली राख्न निर्देशन

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेपालमा पनि कोरोना महामारीको तेस्रो लहरसँग जुध्न तयारी थालिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो।

कोरोनाको तेस्रो र चौथो लहरबाट बालबालिका बढी संक्रमित हुन सक्ने सरकारी आँकलन छ।

अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि प्रौढ र युवा लक्षित मात्र भएको भन्दै मन्त्रालयले अब तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबुभित्रै रहनपुगेको समेत जनाएको छ।

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने

सरकारलाई संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराए।

उनले कुन खोप र कति मात्रा दिने भन्ने कुरा विज्ञप्तिमा उल्लेख गरेका छैनन्।

“कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने घोषणा गर्नु सराहनीय छ। यस सहयोगको घोषणाप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौँ । साथै भविष्यमा नेपाल र नेपालीका तर्फबाट यस किसिमका साथ र सहयोगको अपेक्षा गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ। यसअघि पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अमेरिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।


प्रतिक्रिया दिनुहोस्