चाइनिज ताइपेइ विरुद्ध नेपालको सहज जित

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ३५


काठमाडौं । यसियाली विश्वकम छनौट चरणको खेलमा नेपालले आज चाइनिज ताइपेइलाई सहज रुपमा हराएको छ ।

नेपाली होम ग्रउण्डमा हुनुपर्ने खेल कोरोना भाइरसको संक्रमणका कारण कुवेतमा भएको ताइपेइ विरुद्धको दोश्रो लेगमा नेपालले २ का विरुद्ध ० गोलको सहज जित हात पारेको हो ।

नेपालको जितका लागि पहिलो हाफको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टी मार्फत गोल गरे । सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

दोश्रो हाफमा सब्सटिच्युटको रुपमा प्रवेश गरेको नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गरे । जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ ।

नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । चाईनिज ताइपेइको यो छैटौं हार हो । अंक विहीन ताइपेइ तालिकाको पुछारमा रहेको छ । अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।

कोरोना भाईरसको महामारीको कारण नेपालले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा कुवेतमा खेलिरहेको हो । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ ।

तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ । एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भइरहेको हो ।

नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा २–० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए । दोस्रो लेगमा भने ताइपेईका खेलाडी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो ।

यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । अब नेपालले विश्वकप छनोटका बाँकी खेलमा जोर्डन र अस्ट्रेलियाको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्