लक्ष्मीलाई जलाउन खोज्नेलाई कारबाहीको माग, उपचारका लागि प्रदेश सरकारले २ लाख दिने

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । डोटीको आदर्श गाउँपालिका–४ मा मट्टीतेल खन्याएर आगो लगाइँदा घाइते भएकी लक्ष्मी भाटको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले चासो दिएकी छन।

अध्यक्ष पराजुलीले आज भाट उपचारत कीर्र्तिपुरस्थित वर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन।

गत साता रोडिङ्गे गाउँस्थित घरमै भएको घटनामा घाइते २८ वर्षीया भाट र उनकी छोेरीको हाल उपचार भइरहेको छ।

उनलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा मङ्गलबाट हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो।

आयोगका अध्यक्ष पराुजलीसँगको भेटमा पीडित भाटले आफू र नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरेकी छन। पति सन्तोष हाल फरार छन्।

आयोगका अध्यक्ष पराजुलीले सो सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग कुुरा गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन यसअघि नै आग्रह गरिसकेकी छन।

उनले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजाय पाउनुपर्नेमा जोड दिइन्।

आयोगले निषेधाज्ञामा घरमा रहेका महिला÷किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श जारी राखेको छ।

हेल्पलाइनबाट २४ घण्टै उजुरी लिने र कानुनी सहयोग समेत सञ्चालन गरिरहेको छ।

उपचारका लागि २ लाख सहयोग

उपचारत लक्ष्मीको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु दुई लाख उपचार सहयोग गर्ने भएको छ।

आज प्रदेश मन्त्रिपरिषद्को बैठकले घाइते भाटको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

सङ्घीय सरकारले पनि घाइते लक्ष्मीको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाएको छ।

उनको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्