जलेर घाइते भएकी महिलालाई विमानस्थलमै पुगेर वनमन्त्री आलेले गरे उपचारमा सहयोग

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगोलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग प्रदान गरेका छन्।

डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुगेका मन्त्री आलेले उपचारका लागि रकम प्रदान गरेको उनका प्रशासन सहायक भक्त आलेले जानकारी दिए।

अज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउदा उनी जलेर गम्भीर घाइते भएकी थिइन।

जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लक्ष्मीलाई आज मन्त्री आलेको पहलमा नेपाली हेलिकप्टर मार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको छ।

मन्त्री आलेले पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो।

अहिले लक्ष्मीको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए।

घटनालगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। रासस

डोटी घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

डोडी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो।

डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतिरहेको अबस्थामा ज्यान मार्ने मनसायले आगो लगाएका थिए । उक्त घटनामा आमा–छोरी नै घाइते भएका छन्।

सन्तोषले सुतेको कोठा बाहिरबाट प्रज्वलनशिल तरलपदार्थ कोठाभित्र खन्याई आगो लगाएका मन्त्रालयले जनाएको छ । सो घटना यही जेठ १२ गते भएको जनाइएको छ।

घाइते दुबैलाई तत्काल जिल्लास्थित सुजङ अस्पताल पुर्याई उपचार गरिएकोमा उनीहरुलाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित कीर्तिपुरस्थित अस्पतालमा ल्याइएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडा कारवाही हुने जनाइएको छ । मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस्ता घटना दोहोरिन नदिन मन्त्रालय कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्