हिउँचितुवामा रेडियो कलार जडान

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


जाजरकोट । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको निकुञ्जले जनाएको छ ।

वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलार जडान गरिएको हो । साल्दाङ ब्लकको निजाल गाउँलाई केन्द्र बनाएर स्याटेलाइट कलार जडान गरिएको निकुञ्जले जनाएको छ ।

साल्दाङ ब्लकको राप्का क्षेत्रमा ३७ केजी तौलको अन्दाजी सात वर्षको वयस्क भाले हिउँचितुवाको घाँटीमा जिपिएस कलार जडान गरिएको छ । उक्त हिउँचितुवाको नाम घाङ्ग्री घापी हिउल राखिएको छ ।

त्यस्तै जेठ ११ गते साल्दाङ ब्लककै धोरामा ३८ केजी तौल भएको अन्दाजी छ वर्षको वयस्क भाले हिउँचितुवामा पनि कलार जडान गरेको छ । सो हिउँचितुवाको नाम लाङ्गेन दिइएको छ ।

स्याटेलाइट टेलिमेट्री जडान कार्यलाई थप प्रभावकारी बनाउन मङ्गोलियामा हिउँचितुवामा कलरिङ गर्दा प्रयोग भएको ‘अर्बिस’ नामको स्वचालित ट्र्याप अनुगमन प्रविधि पहिलो पटक प्रयोग गरिएको छ ।

स्याटेलाइट कलार जडान गरिएका हिउँचितुवाको आनुवांशिक अध्ययन गर्न एवं डिएनए प्रोफाइल तयार गर्न रगतको नमूनासमेत लिइएको छ । स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट हिउँचितुवाको विचरणको अध्ययन गरिएको निकुञ्जले जनाएको छ ।

हालसम्मका तथ्याङ्कलाई हेर्दा दुवै हिउँचितुवाले सामान्यरूपमा आ–आफ्नो बासस्थानमा तीन हजार ६९ मिटरदेखि चार हजार ९६० मिटरको उचाइमा विचरण गरिरहेको निकुञ्जले जानकारी दिएको छ ।

घाङ्ग्री घापी हिउलले सात दिनमा २४ किमी दूरी पार गरेको छ भने लाङ्गेनले एक दिनमा दुई किमी दूरी पार गरेको छ । यी हिउँचितुवा एक अर्काबाट छ किलोमिटरको दूरीमा विचरण गरिरहेको बताइएको छ ।

उनीहरुले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहारलगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्याङ्क दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्