४ हजार संक्रमित थपिँदा ६ हजार बढीले कोरोना जिते

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही अवधिमा ६,२०५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ।

यसैगरि, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै १०९३ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ। क्वारेन्टाइनमा ७६३ जना छन्।

संक्रमण घट्दैछ : मन्त्रालय

आजको मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग, धुलिखेल अस्पतालका निर्देशक डा विराज कर्माचार्यले अघिल्लो हप्ताभन्दा यो हप्ता झण्डै १७.५ प्रतिशतले कोभिड संक्रमितको संख्यामा कमी आएको जानकारी दिए।

अन्य प्रदेशमा संक्रमितको संख्यामा कमी आएपनि गण्डकी प्रदेशमा भने विगतको हप्ता भन्दा ५०.८ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको उनले बताए।

डा.कर्माचार्यले अहिले पनि नेपालमा टेष्ट पोजेटिभिटी निकै नै धेरै भएको बताए।

 


प्रतिक्रिया दिनुहोस्