प्रादेशिक अस्पताल सुधारका लागि उच्च स्तरीय समिति गठन

प्रकाशित मिति : असार २, २०७८ बुधबार


धनुषा । प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ ।

अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले सरोकारवालासहित अस्पतालका वरिष्ठ चिकित्सकाे बैठक बाेलाएर अस्पतालको अवस्थाबारे जानकारी लिएपछि समिति गठन गरिएकाे हाे ।

अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपायबारे चिकित्सकहरुले दिएको सुझावहरु सङ्कलन गर्दै अस्पतालको समग्र सुधारका भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

चार दिन समयसीमा पाएको समितिले अस्पतालको उपचार, कर्मचारी व्यवस्थापन, प्रतिष्ठानअन्तर्गत गएपछि गरिनुपर्ने संरचनागत परिवर्तनलगायत अन्य सुविधालाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ ।


प्रतिक्रिया दिनुहोस्