विश्वस्तरीय नेपाली गायन प्रतियोगिता हुँदै

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ ।

प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्न ‘साङ्गीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र सार्क मुलुकबाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने छन् ।

प्रतियोगिताबारे जानकारी दिन दिँदै एनआरएनएका पूर्वअध्यक्ष लामिछानेले भने, “एनआरएनए स्थापनाको प्रमुख उद्देश्यमध्ये प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन तथा जगेर्ना गर्नु पनि एक हो । यो कार्यक्रम त्यसतर्फ एक कोसेढुङ्गा हुने मैले विश्वास लिएको छु ।”

उनले कार्यक्रमलाई सफल पार्न सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीको मूल पहिचान भएकाले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए ।

प्रतियोगिताको मूल आयोजक एवं संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले लामो तयारी गरेर कार्यक्रम सार्वजनिक गरिएको बताए।


प्रतिक्रिया दिनुहोस्