अक्सिजन नहुँदा १ घण्टामै पोखरामा एकैसाथ ६ जनाको मृत्यु हुनु दुःखद : कांग्रेस

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित छ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ।

साथै कांग्रेसले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाम उपचाररत बिरामीको ठूलो सङ्ख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि गरेको र सरकार कहाँ छ भन्ने प्रश्नसमेत सिर्जना गरेको आरोप लगाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत जनताको मृत्यु यसरी कहालीलाग्दो ढङ्गले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको टिप्पणी गरेका छन।

कांग्रेसले देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको भएको उल्लेख गर्दै सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका घटनाहरुको जिम्मेवार पनि सरकार नै हुनुपर्ने जिकिर गरेको छ।

अक्सिजनको अभावमा एकसाथ जीवन गुमाएका छ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युुपश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत कांग्रेसले सरकारलाई आग्रह गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्