जसपा: एकले अर्काे पक्षलाई स्पष्टिकरण साेध्दै

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद चूलिदै गएको छ । प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेका जसपाका महन्थ ठाकुर र प्रतिनिधिसभा बिघटनबिरुद्ध बिपक्षी गठबन्धनमा रहेका उपेन्द्र यादवबीचको विवाद चूलिदै गएको हो ।

​विवाद बढ्दै जाँदा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् । त्यस्तै यादव पक्षले पनि महन्थ ठाकुरलाई स्पष्टिकरण सोधेका छन् । अध्यक्ष ठाकुरले सोधेको स्पष्टिकरणमा पार्टीको निर्णय विपरित काम गर्दै हिँडेको आरोप लगाइएको छ ।

७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गर्नुको कारण, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न जानुको कारणलगायत विषयमा प्रश्न गरिएको छ ।

त्यस्तै स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यलयमा पठाउन समेत अध्यक्ष ठाकुरले भनेका छन् ।

यस्तो छ, महन्थ पक्षले उपेन्द्र यादव पक्षलाई सोधिएको स्पष्टिकरण

यस्तै यादव पक्षले अध्यक्ष ठाकुरलाई ९ बुँदे स्पष्टीकरण पत्र पठाएको छ । त्यस्तै उनले राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेका छन् ।

चार बुँदे स्पष्टिकरणमा संविधान बिपरितको काममा प्रधानमन्त्रीलाई किन साथ दिएको भन्दै प्रश्न गरिएको छ ।

यस्तो छ, उपेन्द्र यादव पक्षले महन्थ पक्षलाई सोधिएको स्पष्टिकरण

पार्टीभित्र विवाद भएपछि जसपा अध्यक्ष महन्थ ठाकुरले पूर्वनिर्धारित कार्यकारिणी बैठक स्थगित गरेका थिए, तर उपेन्द्र यादव पक्षले कार्यकारिणी बैठक बोलाएर महन्थ पक्षलाई कारवाही गर्ने निर्णय गरेपछि महन्थ पक्ष थप आक्रोशित भएको थियो ।

विवादकै कारण जसपाका महन्थ ठाकुर पक्ष सरकारमा जान पनि ढिलाई गरिरहेको छ । महन्थ पक्षका केहि नेताले पार्टीभित्रको विवादलाई सुल्झाएर जाने सुझाव दिएका छन् केहि नेताले तत्काल सरकार जानुपर्ने सुझाव दिएका छन् ।

सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीले बारम्बार आग्रह गर्दै आएका छन्। जसपाले गृहसहित दश मन्त्रालय दाबी गरेको छ । तर प्रधानमन्त्री त्यसमा सहमत छैनन् ।

सरकारमा सहाभागी हुने तयपछि उपेन्द्र यादवलाई साथ दिएका केही सांसदहरु पनि महन्थ पक्षमा आएको महन्थ पक्षको दावी छ ।


प्रतिक्रिया दिनुहोस्