‘बुद्धको विद्रोह जस्तै प्रतिगमनविरुद्ध संघर्षमा उत्रिनु एक मात्र विकल्प’

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धले जस्तै परातनवादी सोच र प्रतिगमनका विरुद्ध विद्रोहमा उत्रन आव्हान गरेका छन् ।

आज बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्ष गर्न आग्रह गरेका छन् ।

उनले बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्‍याएको योगदान नेपालीका लागि गौरवको कुरा भएको बताएका छन् । साथै बुद्धका उपदेश विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत रहेको उनको भनाइ छ ।

वुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिदै प्रचण्डले भनेका छन्: गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य र दीर्घायूको कामना सहित शुभकामना व्यक्त गर्दछु ।

गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याउनु भएको योगदान नेपालीहरुका लागि गर्वको कुरा हो । बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन् ।

सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ । दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ । त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं ।

बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउँदैन । पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ ।

त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु । त्यसैगरि आजकै दिन परेको किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

साथै, कोरोना भाइरस ९कोभिड–१९०को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वास सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।


प्रतिक्रिया दिनुहोस्