कोरोना कहर : भोक सहनै गाह्रो

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


सप्तरी । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ। पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ।

त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ। एउटीको थर दास हो भने अर्कीको चौधरी। दुबैको मुहार हिजोआज मलिन छ।

सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला किनारमा एउटा सानो कोठा डेरा लिएका उहाहरूसँगै दासकी १२ वर्षीया छोरी प्रियंका पनि बस्छिन्।

एउटा खाटमा सुत्न ठाउँ नपुगेपछि खाटसँग जोडेर बेञ्च लगाइएको छ । प्रियंका पनि निन्याउरो र चिन्तित मुद्रामा आमाको छेउमा सँगै देखिन्छिन्।

राजविराज नगरपालिका–६ माइत भएकी सरस्वती दासको १६ वर्षकै उमेरमा सप्तरीको हनुमाननगर बजारका उमेश दाससँग मागी विवाह भयो।

विवाह भएर घर गएपछि मात्र उनलाई थाहा भयो कि त्यो घर आफ्नो नभई सासुको माइती रहेछ। केही महिनापछि सासुलाई उनका माइतीले घरबाट निकालेपछि सरस्वतीको परिवार घरवारविहीन भयो। सासुले त उनको अर्को भाइकोमा शरण पाइन्। तर नवविवाहिता उनले सहारा पाइन्नन।

श्रीमान सन्तोष साहुजीको पसलमा मिठाइ बनाउथे र केही रकम हात लाग्थ्यो। दासका अनुसार उनी पनि मादकपदार्थ र नशालु पदार्थ सेवनकर्ता भएकाले त्यसैमा पैसा सक्थे।

दास भन्छिन् ,‘‘श्रीमानले त्यतिबेला छाडनु भयो, जतिबेला सबैभन्दा बढी सहाराको जरुरी थियो।’’

गर्भवती भएका बेलामा श्रीमानले छाडेर बेपत्ता भएको घटनालाई उनी सबैभन्दा अप्ठ्यारो समयको रूपमा सम्झिन्छन।

गर्भवती भएका बेला घरपरिवारबाट कुनै पनि सहयोग नपाएपछि माइती घरमा नै गएर छोरीलाई जन्म दिएको उनले सुनाइन।

सानै उमेरमा विवाह गरी आमा बनेकी दासले रोजीरोटीका लागि तरकारी पनि बेचिन।

रोजगारी तथा कमाइखान तरकारी बेच्ने व्यवसाय उनको लागि सुरक्षित भएन।

तरकारी कुहिने र पर्याप्त पुँजी नभएपछि गुजारा चलाउन उनलाई समस्या भयो।

पछिल्लो समय उनी होटलमा भाँडा माझ्ने काम गर्छिन।

तरकारी बिक्री गर्दा दासको चिनजान भवन निर्माणमा मजदूरी गर्दै आएकी सरस्वती चौधरीसँग भयो।

एउटै नाम भएका उनीहरूको चिनजान मित्रतामा परिणत भयो।

सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंह घर भएकी चौधरीका श्रीमान् दमका रोगी थिए।

श्रीमानको मृत्यु र एक मात्र छोरीको विवाहपछि एक्ली बन्नु भएकी ३९ वर्षीया सरस्वती मजदूरी गर्दै राजविराज आइन्।

भवन निर्माणको ज्याला मजदूरीको काम दैनिक रूपमा नपाएपछि उनी स्थायी कामको खोजीमा थिइन्। यस काममा दासले सघाइन र उनलाई पनि होटलमा सँगै काम दिलाइन।

बिहान ७ बजे होटल जाने गरेका उनीहरूले राति साढे ९ बजे छुट्टी पाउछन्।

दुबै जनाले महिनाको सात÷सात हजार पाउछन्। खर्च बचतका हिसाबले दुबै जनासँगै एउटा कोठामा बस्न थालेका छन्।

उनीहरू काम गर्दै आएको होटल कोभिड–१९ रोकथामका लागि भएको लगातारको बन्दाबन्दीका कारण अहिले बन्द छ।

बन्दाबन्दी खुल्ने अनिश्चित भएसँगै होटल खुल्ने पनि अनिश्चित बनेपछि होटल सञ्चालकले उनीहरुरूलाई छुट्टी दिएका छन्।

न्यून तलबमा जसोतसो गुजारा चलाइरहेका उनीहरूलाई अहिले हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ।

उनीहरूलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ।

छोरी जन्मिदा र हुर्कदा माइतीको सहयोग भए पनि हाल सहयोग नभएको दासले बताइन।

लकडाउनका बेला माइत जाँदा भाइ बुहारीले कोरोनाका बेला नआउन भनेको बताइन।

बन्दाबन्दीले होटल बन्द भई काम गर्न नपाउँदा आफूहरूलाई घरखर्च चलाउन निकै समस्या परेको उनीहरूको भनाई छ ।

बन्दाबन्दी भएको १७ दिन पुगेको छ। उनीहरूसँग भएको पैसा पनि सकिएको छ।

उनीहरूसँग नत पैसा छ, नत एक छाक गाँसको व्यवस्था गर्ने अन्य उपाय नै छ।

पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ, बिहानको छाक कसरी टार्ने भन्ने उनीहरूलाई चिन्ता छ।

चौधरीको श्रीमानको मृत्यु भइसकेको छ भने दासको श्रीमान सम्पर्कमा छैनन्।

चौधरीको एक मात्र छोरीको विवाह भइसकेको छ भने दासको एउटी छोरी नाबालिका छिन् ।

होटलमा काम गर्दै आउनु भएका उहाँहरूले कोभिड–१९ रोकथामका लागि शुरु भएको बन्दाबन्दीका कारण काम गर्न पाउनु भएको छैन्।

बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उनीहरूलाई दैनिक छाक टार्न समेत मुस्किल परेको छ।

काम गर्ने होटलमा नै दुई छाक खान पाइरहेका उनीहरूको होटल बन्द भएपछि खाने समस्या भएको हो।

त्यसै माथि १२ वर्षीया छोरी भोकाउँदा झनै पिडा थपिने गरेको दासले बताइन।

आँखाभरि आँसु लिदै दासले भनिन्– “आफ्नो भोकभन्दा पनि छोरीलाई भोकले तडपिएको देख्दा निकै गाह्रो हुन्छ।” नानीमैया कटवाल/रासस


प्रतिक्रिया दिनुहोस्