पिँठ्यूमा बोकेर अस्पताल

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


रोल्पा । दुर्गमका नागरिकको स्तरीय उपचार सेवाको त के कुरा गर्नु बिरामी पर्दा स्वास्थ्य चौकी लैजान स्ट्रेचरसम्म पाउँदैनन्।

दुर्गमका अधिकांश बिरामीलाई डोको र कुर्सीमा बोकेर स्वास्थ्य चौकी पुर्याइन्छ।

धेरैजसो बिरामी डोको र कुर्सीसमेत नपाएर आफन्त र छरछिमेकको खाली पिठ्यूँमा अडिएर निको हुने आशमा स्वास्थ्य चौकी पुग्छन्।

यसरी पिठ्यूँमा अडिएर स्वास्थ्य चौकीसम्म पुग्नु यहाँका बिरामीको नियति नै बनिसकेको छ। त्यसमध्येका एक ज्वलन्त उदाहरण त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ चुँ गाउँ बस्ने ८० वर्षीया सुकमती रोकाय छन्।

उमेरले नेटो काटिसकेकी रोकाय करीब एक महिनादेखि बिरामी परिन्। उनलाई पेट दुख्ने समस्या थियो। घरमै सञ्चो हुने आशमा उनलाई एक महिनासम्म घरेलु तथा बजारिया औषधि किनेर खुवाइयो। सञ्चो हुने छाँटकाँट नदेखिएपछि छोरा लालबहादुरले गत बुधबार बिहानै आमाको उपचार गर्न अन्यत्र लैजाने तयारी गरे।

घर नजिकैको लिकु स्वास्थ्य चौकी त्यहाँ कार्यरत कर्मचारीमा कोरोना देखिएको भन्दै एक साताका लागि बन्द गर्न नगरपालिकाले भनेको थियो।

गाउँसम्म त कच्ची बाटो पुगेकै थियो। गाडी रिजर्भ गरेपछि मात्रै जाने भएकाले स्ट्रेचरमा बोकेरै भए पनि अस्पतालसम्म पुर्याउने रोकायले योजना बनाए।

थप उपचारका लागि आफ्नै नगरपालिकामा केही महिनाअघि मात्र सञ्चालित नगर अस्पतालमा लैजाने सल्लाह भयो। नगर अस्पतालमा एकजना एमबिबिएस चिकित्सक भएकाले स्तरीय सेवा पाउने सबैको आशा हुन्छ।

जिल्ला सदरमुकाम दुनैमा रहेको एकमात्र जिल्ला अस्पतालमा कोरोनाका बिरामी बढेकाले वृद्ध आमालाई केही भइहाल्छ कि भन्ने डरले त्यहाँ लैजान लालबहादुर डराए।

मङ्गलबार रातिदेखि एकमेसले पानी परिहेको थियो। पानी फाट्ने छाँटकाँट थिएन। लगातार भइरहेको बर्षाका कारण चिसो पनि ह्वात्तै बढेको थियो बिरामी सिकिस्तै भएकाले हिँडाएर लैजान सम्भव थिएन। बुधबार बिहानै स्ट्रेचर खोज्न रोकाय गाउँतिर डुले पनि स्ट्रेचर भने पाएनन्। उनी नजिकैको लिकु स्वास्थ्य चौकी पुगे।

त्यहाँका स्वास्थ्यकर्मीले पनि स्ट्रेचर छैन भनेर फर्काइदिए। त्यहाँ स्ट्रेचर प्रहरीले दिएपछि उनी घर फर्किए ।

एकातिर स्ट्रेचरमा बोक्न चारजना लाग्ने अर्कोतिर कोरोनाका डरले कुर्सीमै बोकेर लैजाने लालबहादुरले निधो गरे।

लालबहादुरका घरमा कुर्सी थिएन। छिमेकीका सहयोगमा वडा कार्यालयमा कुर्सी मागेर बिरामी आमालाई बोकेर अस्पताल पुयाइए।

बाहिर निरन्तर वर्षा भएकाले बिरामीलाई पानीबाट जोगाउन कुर्सीलाई प्लास्टिक बेर्नाका साथै कुर्सीको बोक्ने भागमा काठले बाँधेरै भएर पनि बिरामीलाई अस्पताल पुर्याइयो।

सङ्घीय संरचनाअनुसार ९ नं वडामा पर्ने चुँ गाउँ पहिला साविका तीन वडामा विभक्त थियो।

सोही कारणले स्वास्थ्य स्वयम्सेविका पनि तीन जना राखिएको छ।

“शुरुमा गाउँमा रहेका स्वास्थ्य स्वयम्सेविकासँग स्ट्रेचर मागियो, आफूहरुसँग भएको स्ट्रेचर गाउँका धामी र ठूलाबडा मान्छे बोक्ने हो, अरूलाई दिन मिल्दैन भन्ने जवाफ फर्काएपछि स्ट्रेचरको खोजीमा अन्य ठाउँमा डुलिएको हो”, बिरामीका ज्वाइँ सतबहादुर बोहाराले भने।

शुरुमा स्वास्थ्य स्वयम्सेविका र नजिकैको स्वास्थ्य चौकी चाहर्दा पनि स्ट्रेचर नपाएपछि प्रहरी चौकीबाट मागेर ल्याएको छोरा लालबहादुरले बताए।

“आमाको स्वास्थ्य अवस्था खासै सुधार भएको छैन्, डाक्टरले पेट साह्रो भएकाले एकपटक एक्स–रे गरेर हेर्नुपर्ने बताएका छन्, अस्पतालमा एक्स–रे मेशिन रैनछ, एक्स–रेका लागि जिल्ला अस्पताल जानुपर्छ भनेका छन्”, रोकायले भने।

स्वास्थ्य चौकीमै स्ट्रेचर छैन

लिकु स्वास्थ्य चौकीमा स्ट्रेचर नभएको धेरै नै भइसक्यो। कोही सर्वसाधारण बिरामी परेर स्ट्रेचर माग्न आइहालेमा स्वास्थ्य चौकीका कर्मचारीले स्वयम्सेविका कहाँ वा प्रहरी चौकीमा पठाइदिन्छन्।

लिकु स्वास्थ्य चौकीमा पहिलेदेखि नै स्ट्रेचर नभएको इन्चार्ज नगेन्द्र बोहोराले बताए।

स्वास्थ्य चौकीमा कार्यरत एकजना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएकाले छ दिनका लागि बन्द गरिएको बोहोराले जानकारी दिए।

चिकित्सक छन् एक्स–रे मेशिन छैन

नगरपालिकाले केही महिनाअघि मात्र सञ्चालन गरेको नगर अस्पतालमा एकजना चिकित्सक राखे पनि एक्स–रे मेशिन भने राखेको छैन।

एक्स–रे मेशिन नहुँदा एक्स–रे गर्नुपर्ने बिरामीलाई तीन घण्टा टाढा रहेको जिल्ला अस्पतालमा सिफारिस गर्नुपर्ने बाध्यता छ।

नगर अस्पस्तालमा एक्स–रेकै लागि बिरामीलाई रिफर गर्नुपर्ने अवस्था आउनु दुःखदायी भएको उपचारका लागि पुगेका एक बिरामीले गुनासो गरे। रासस


प्रतिक्रिया दिनुहोस्