अब निषेधाज्ञा जारी गर्न दुई जिल्ला मात्र बाँकी

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । तीब्र रुपमा फैलिएको कोरोना भाइरस संक्रमण महामारीका कारण नेपाल ठप्पप्रायः बनेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७७ जिल्लामध्ये हालसम्म ७५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो पटक तेह्रथुममा निषेधाज्ञा जारी गरिएको छ । ७५ मध्ये अधिकांशमा जिल्लाभर र केहीमा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
निषेधाज्ञा लागु भएका जिल्लाहरु

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, सप्तरी, ओखलढुंगा, रसुवा, पाँचथर, सोलुखुम्बु, लमजुङ, भोजपुर, मुस्ताङ, रुकुम पूर्व र तेह्रथुम ।

मापदण्ड पालना नगरे कैद र जरिवाना
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ जारी गरेकी छन् । अध्यादेश राजपत्रमा प्रकाशित भइसकेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विद्यमान कानुन पर्याप्त नभएको भन्दै सरकारले अध्यादेशमार्फत विभिन्न व्यवस्थाहरु गरेको हो ।

अध्यादेशानुसार सरकारले जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेछ । ‘कोभिड–१९ को संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा वा पर्न सक्ने देखिएमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा नेपालको कुनै स्थानमा लागु हुने गरी कोभिड–१९ स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने छ’, अध्यादेशमा भनिएको छ ।

सरकारले आवश्यक ठानेमा मानिसको आवतजावतमा समेत रोक लगाउन सक्ने व्यवस्था अध्यादेशमा गरिएको छ । यस्तै अध्यादेश बमोजिमको कुनै काम गर्न कसैले बाधा–अवरोध गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

अध्यादेश बमोजिमको मापदण्डको पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा उल्लेख छ । मास्क नलगाई सार्वजनिकस्थलमा आवतजावत गरेमा सुरक्षाकर्मीले पटकैपिच्छे २०० रुपैयाँ जरिवाना गर्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्