देउवाको पक्षमा हस्ताक्षर गर्ने ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेकपा एमालेले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप उनीहरुमाथि लगाएको छ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी दिए।

स्पष्टीकरणका आधारमा पार्टीले थप निर्णय गर्ने बताइएको छ । जवाफ यही जेठ १० गतेभित्र पेश गर्न भनिएको छ।

उनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे गम्भीरतापूर्वक छलफल गरिएको बताए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिश गर्न एमाले नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए।

“आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हराएर त्यसका ठाउँमा कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर जाने कुरा अनुमान नै गर्न नसकिने थियो,” उनले भने, “देशभरि पार्टी एकताका लागि आवाज उठिरहेको छ । कार्यदलले काम गरिरहेको थियो तर फेरि आफ्नै प्रधानमन्त्रीविरुद्ध पार्टीका साथीहरुले हस्ताक्षर गर्नुभयो।”

यसअघि पनि पार्टीका केही नेतासँग स्पष्टीकरण सोधिएको थियो।

तीमध्ये नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई कारवाही गरिएकामा केही दिनअघि भएको स्थायी कमिटी बैठकले फुकुवा गरेको थियो।

पार्टी कार्यदलले समस्या समाधान गरिरहेका अवस्थामा पार्टीकै नेताका कारण फेरि समस्या आएको उनको भनाइ थियो।

उनले गत वैशाख २७ गते संसद्मा अनुपस्थित भएर केही साथीहरुले जुन गल्ती गर्नुभयो फेरि त्यो गर्नुहुन्न भन्ने प्रधानमन्त्रीलाई लागेको उनले बताए।

पार्टीले कोरोना भाइरसविरुद्धको लडाइँमा आफ्नो ध्यान केन्द्रित गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्